किशोरीको प्रेम

    टीका खरेल सुवेदी

1 0


नेपालदृष्टि । हरिया चियाका बोटहरूले तरेली परेका पहाडी कान्लाहरूलाई थुम्का थुम्कामा पऋणत गरेका छन् । चियाका कलिला आँकुराहरू कपास झै सेताम्मे फुलेका बादलुको लुकामारीमा रमाइलो मानेर खित्खित्ताइरहेका छन् । तिनै चियाका बोटहरूको थुम्का थुम्कीहरूको किनारमा लस्करै उभिएका धुपीका बास्नादार बैसालु रेशमी पातहरू चञ्चल पवनको झोक्कासँगै फरफराइरहेका छन् । जुरेली, गौन्थली र कोइलीजस्ता चरीहरूको मीठो साङ्गीतिक आवाजले मादकता थपिदिएको छ ।
सधैं झै आज पनि साँझको चार बजेपछि चखेवाको जोडी जस्तै एक प्रेमीको जोडी अँगालो मारेर अलि परबाट आइरहेका थिए । उनीहरूको रोजाई सधैं एउटा झम्म परेको पोथ्रो मुनीको खाली हरियो दुबोले ढाकेको जमिन पदैथ्यो । घण्टौँ त्यही बसेर प्रेमालाप गरेर बसेका ती जोडी गोधूलिसाँझ परेपछि अंकमाल गरेर छुट्टिन्थे । उनीहरुको प्रेम त्यहाँका चियाका मुना जस्तै भर्खरै मात्र टुसाएको थियो । किशोरी भर्खरै यौवनको खुड्किलोमा पाइला टेक्दै गरेकी थिई भने उसको प्रेमी ऊभन्दा आठ नौ वर्षले बढी उमेरको देखिन्थ्यो । किशोरी प्रायः स्कुल पोशाकमै स्कुल ब्याग बोकेर नै आएकी हुन्थी । छरितो शरीरमा स्कुल पोशाक त्यसमा लरक्क परेका दुई चुल्ठी कपालले कम्मर मुनीको भागसम्म छुन्थ्यो । जब युवकले मायालु भावले कपालका चुल्ठी सुमसुम्याउँछ किशोरी लाजले भुतुक्क हुन्छे । फक्रिन लागेको गुलाफ जस्तो मुहारमा अनार झै मिलेका दन्त पङ्ति देखाएर मुसुक्क हाँस्दा दाहिने गालामा परेको खोपिल्टोले झनै हिस्सी देखिन्छे मानौ चाँदीले पोतिएको हिमालमा बिहानी पखको झुल्के घामको लालीमा ठोक्किदा बनेको उज्यालोजस्तो किशोरीको मुहार धपक्क छ । लाग्छ, भगवानले उसलाई खुबै मिहिनेत गरेर बनाइदिएका होलान् ।
प्रशस्त सम्पत्ति नभए पनि खान लाउन दुःख थिएन । उसकी आमापट्टिका दुई जना भाइ र जेठी आमा पट्टीको एक जना दाइको ऊ एक्ली चेली हो । घरमा सबैको प्रिय थिई । उसको दाइ सहरमा व्यवसाय गरेर बसेको हुनाले ऊ पनि दाइ भाउजूसँगै सहरमा नै बसेर स्कुल पढ्दै गरेकी थिई । तराईको गाउँबाट आएकी ऊ उसको दाइको साथी जो सहरमानै बेपार व्यवसाय गरेर बस्ने युवकको आँखामा पर्छे । किशोरीलाई देखेपछि युवकले आफ्नी मनकी राजकुमारीसँग भेट भएको सोच्न थाल्छ । उसले किशोरीलाई हेर्नको लागि भएपनि साथीको डेरामा जाने अनेक बहाना मिलाउन थाल्छ । किशोरीको सुन्दर रूपले मोहित युवक आफ्नो मनको कुरा भन्न सकिरहेको थिएन ।
आठ कक्षाको अर्धवार्षिक परीक्षा आउनै लागेको थियो । दाइले बहिनीले राम्रो अंक ल्याएर पास होस् भन्ने चाहनाले ट्युसन पढाउने शिक्षकको व्यवस्था गरेको देखेर युवकलाई त्यति मन पर्दैन । ऊ किशोरीलाई अरूले मन पराईदेलान् भन्ने कुराले चिन्तित हुन्थ्यो । उसले प्रेम प्रस्ताव राख्ने निर्णय गर्यो । रातभरि निद्रा लागेन कसरी प्रस्ताव राख्ने ? किशोरीले के सोच्दी हो रु यस्तै कुरा मनमा खेलाएर उज्यालो भयो । प्रेमपत्र लेख्यो र खल्तीमा जतन साथ राख्यो । पसल जान भनेर निस्कियो । उसको घरबाट पाँच मिनेटको दुरीमा साथीको डेरा थियो । साथीको डेरा नपुग्दै भोजपुरेसाहूको किराना पसल आउँथ्यो संयोगले किशोरी पनि त्यही पसलमा आएकिरहिछ । दुवैको भेट भयो तर आज युवकले किशोरीलाई बोलाउनुभन्दा अघि किशोरीले नै बोल्न सुरु गरी । दुवै जना सामान किनिसकेर पसलबाट निस्किए । पत्र दिनलाई खल्तीमा हात लाग्यो तर उसलाई के गरुँ गरुँ भयो । मन बलियो बनाएर खल्तीबाट पत्र झिक्यो र किशोरीको हातमा पत्र दियो । के हो यो ? किशोरीले पत्र खोल्न थालेको देखेर ऊ डर र लाजले गर्दा हतार हतार घरतिर लाग्यो ।
पत्र पढेर किशोरी लाजले भुतुक्क हुन्छे । उसलाई आफूले ठुलै गल्ती गरेको जस्तो लाग्छ । डरले पसिना पसिना हुन्छे । पत्र मुठीमा कच्याककुचुक पारेर फाल्न खोज्छे तर अरूले खोलेर पढ्दा बेइज्जत हुने डरले मुखमा हालेर चपाएर थुकेपछि लामो श्वास तानेर डेरातर्फ हतार हतार दौडिन्छे ।
आज दिनभर युवकको पत्रका शब्दहरू मात्र दिमागमा खेलिरह्यो । स्कुलमा पढाएको केही बुझ्न सकिन । पढेको नबुझेकोले गृहकार्य गर्न गाह्रो भयो । भोलिपल्ट शिक्षकको नराम्रो गाली खानु पर्यो । केही दिनसम्म उसलाई यस्तै भइरह्यो । यता युवक भने पत्र दिएको दिनदेखि हप्ता दिनसम्म साथीको डेरामा गएको थिएन । सधैं आइरहने साथी धेरै दिनसम्म नआएपछि किशोरीको दाइ आफैले फोन गरेर सञ्चो बिसञ्चो सोध्छ । किशोरी भने दाइले युवकलाई फोन गर्दा झस्किन्छे । युवकको अनुहार सम्झेर लाज लाग्छ उसलाई । आफ्नो घरमा नआएपनि हुन्थ्यो जस्तोलाग्छ उसलाई । उसको दाइले युवकलाई शनिबार खानाखाने गरी बोलाउँछ ।

उसले पहिलो प्रेमपत्र दिएको पनि एक वर्ष भएछ त्यसपछि पनि लगातार पत्र दिइरह्यो तर उसको पत्रको जवाफ भने किशोरीको मन्द मुस्कान मात्र हुन्थ्यो । कुनै जवाफ नपठाए पनि उसले युवकलाई मन पराउने थालेकी थिई ।

नौ कक्षाको बार्षिक परीक्षा सकेको दिन फिल्म हेर्न गए । उनीहरू समय मिल्नासाथ एकान्तमा भेट गर्न मन पराउँथे । उनीहरूको रोजाईमा चियाबारीमा रहेको झ्याम्म परेको पोथ्रो मुनीको खाली हरियो दुबोले ढाकेको जमिन थियो । अब दुवै जना एक अर्का बिना बाँच्न नसक्ने भइसकेका थिए । घण्टौँ बितेको पत्तै हुदैनथ्यो ।
दस कक्षाको सेन्टअप परीक्षा चलिरहेको थियो । स्कुले केटाकेटीहरूको हूल प्रश्नपत्र बोकेर छलफल गर्दै कल्याङकुलुङ आवाज निकाल्दै बाटोभरि छरिएर हिँडिरहेका थिए त्यही हूलमा किशोरी पनि आफ्ना सहेलीहरूसँग लुरुलुरु हिँडिरहेकी थिई । मृगको बच्चा जस्तो नाच्दै खेल्दै हिड्ने उसको बानी तर आज उसको हिँडाइमा पहिला जस्तो कुनै चञ्चलता थिएन । अनुहार पनि फुङ्ग उडेको थियो । सहेलीहरूसँगको हाँसोमा ऊ खुलेर हाँस्न सकिरहेकी थिइन । बेला बेलामा खिस्स गरेर उदास हाँसो हाँसी दिन्थी । शारीरिक रूपमा कमजोर महसुस भएको थियो ।
कोठामा पुगेर पहिला नुहाई धुवाई गरेर फ्रेस हुन खोजी । परीक्षा सकेको दिन भएकोले आज भाउजूले खाजा उसलाई नै बनाउने जिम्मा लगाएर किनमेल गर्न भन्दै बाहिर निस्कने तरखरमा लागि । किशोरी खाजा बनाउने भान्सामा पसेर खाजा बनाउन खोज्दै थिई । रिङ्गटा लागेर भुइँमा ढली । होश खुल्दा त हस्पिटलमा रहिछ । भाउजूले दाइलाई रिसाएर गाली गरिरहेको देखी । दाइ १ मलाई किन यहाँ ल्याउनुभएको ? के भयो र मलाई ? दाइले केही भन्न सकिरहेको थिएन । भाउजूले दारा किट्दै भन्न थाली “हाम्रो नाकामा गू लगाएर अँझै बुझ पचाउन लाज लाग्दैन “? दाइले आसु झार्दै सोध्नुभयो बहिनी । नढाँटी भन तिम्रो कोसँग अनैतिक सम्बन्ध कायम भयो ? तिमीले यो सबै के गरेको ? हाम्रो खानदानको इज्जत जाने काम किन गर्यौ ? हे भगवान १ अब कसरी शीर ठाडो पारेर हिड्ने ? भन बहिनी कुन पापीको गर्भ हो ? किशोरीलाई आकाशले थिचे जस्तो भएर आयो । अनैतिक सम्बन्ध लुकाउन सक्ने अवस्था थिएन । ऊ रुनथाली । दाइले फकाउदै सोध्यो ।
आफ्नै मिल्ने साथीबाट यस्तो घृणित कार्य भएको देख्दा छाँगाबाट खसे जस्तो भयो । एक्ली बहिनीलाई राम्रो शिक्षा दीक्षा दिएर स्वावलम्बी बनाउने उसको इच्छा तुहिएकोले छ । अब उसले साथीलाई बोलाएर बहिनीलाई टीका लगाएर जिम्मा लगाउन बाहेक अर्को विकल्प देख्दैन । आफ्नै परिवारका सदस्यमात्रको उपस्थितिमा टीकाटालो सम्पन्न भयो ।
युवकले आफ्नो परिवारबाट स्वीकृति नपाएपनि आफूले खुशी साथ घरमा भित्राउने आँट गर्छ । दाइको विवाह नगरी भाइले परिवारको इच्छा विपरित घरमा बुहारी भित्र्याएको त्यसमा पनि गर्भवती भएकी केटी । सबैले छिः छिः र दुरदुर गर्न थाल्छन् । दाइ भाइहरूले समाजले कुरो काट्ने डरले गर्भ तुहाउन पर्ने दबाब दिन थाल्छन् । परिवारका हरेक सदस्यले आफ्नी अर्धाङ्गिनीलाई नराम्रो र हेय दृष्टिले हेरेको युवकलाई सह्य हुँदैन तर पनि घरबाट निस्किएर अलग बस्ने साहस गर्न सक्दैन । दाइको इच्छाअनुसार गाउँको घरमा जान्छ, नव दुलही लिएर । सासू ससुरा नन्द आमाजूले दाइजो खोइ के के ल्यायौ त बुहारी रु भन्ने प्रश्न गरेको सुनेर किशोरीको मुहार अँध्यारो हुन्छ । बिहे गरेर आएको केही महिनामै बच्चा जन्माउने कुरोले सबैले अनेक बचनका व्यङ्ग्य वाण प्रहार नगरेको दिनै हुन्न । गर्भ तुहाउनका लागि घरायसी औषधी गोप्य रुपमा खुवाउने काम गरिन्छ तर सफल नभएपछि निजी मेडिकलमा लगेर गर्भ तुहाउन पर्ने कुरो गरेको सुनेर किशोरीको मन चिराचिरा पर्छ । बच्चाले पेटमा खेल्दा र धड्कन चल्दा उसले पेट सुमसुम्याउँदै आफ्नो सन्तानसँग मनमनै कुरा गर्न थालेकी हुन्छे । सबैले हेला गर्दा पनि गर्भमा रहेको शिशुको धड्कनले उसलाई बाँच्न साहस दिइरहेको थियो । उसको लोग्नेले पनि परिवारमा सबैले दवाव दिएकाले गर्भ तुहाउन पर्ने कुरो गरेपछि उसलाई सारै नमीठो लाग्यो । भोलिपल्ट उसको मुटुलाई टुक्रा टुक्रा पारेर मिल्काई दिनेछन् दुष्टहरूले । रातभरि छटपटाइरही । माया गर्ने उसको लोग्नेनै उसको मुटु निमोठी हत्या गर्न लागेको देखेर उसलाई संसार अँध्यारो भएर आयो । कति अनूनय गरी तर उसको रोदन सुन्ने कोही भएन आखिर । अन्त्यमा जे नहुनु थियो गराएरै छोडे पापीहरूले ।
पाँच महिना पुगेर छ महिना लागेको रहेछ, गर्भ फाल्न धेरै नै जोखिम हुन्छ । आमालाई पनि बचाउन कठीन हुन्छ तपाईँहरू जोखिम मोल्न तयार हुनुहुन्छ त रु डाक्टरले सोधेको थियो तर सजिलै हुन्छ भन्दै स्वीकृति दिए । रगतको आहालमा डुबेर सन्तानको हत्या गराएर घर फर्किन बाध्य किशोरी चार पाँच दिन पनि नहुँदै तङ्ग्रिन पर्ने भयो । असारको महिना धान रोपाई सुरु भयो । अब सधैं सुतेर कहाँ खान पाइन्छ खेताला आउँछन् मेला निस्किन पर्छ है । भन्दै सासूले अरह्याएपछि धान रोपाईंमा खटिनुपर्ने भयो । सुत्केरीको स्याहार हुने कुरै भएन जसले गर्दा अनुहार डम्म फुल्दा खानपान पुगेर मोटाइ भन्थे सासू र नन्दआमाजु । ऊ भने शारीरिक रूपमा कमजोर हुँदै गरिरहेकी थिई । खेतीको काम सकेर लोग्ने सहर गयो किशोरीलाई माइतीको घरमा छोडेर । छोरी सुनिएर डम्म फुलेको शरीर लिएर जाँदा आमा छोरीलाई अंगालो हालेर आमाछोरीको धेरै बेर रोइरहे । सबै कुरा थाहा पाएर माइतीमा आमा र भाइहरूले अब घर नपठाउने निर्णय गरेका थिए । तीज मानेर किसोरी लोग्नेको घरमा जाने नै भई । समाजमा बिहे गरेकी छोरीले माइतीको घरमा बस्नु राम्रो मानिदैन आमा । जस्तो सुकै कष्टकर जीवन बिताउन परेपनि म अब पराईकै घरलाई आफ्नो भाग्य ठानेर स्वीकार गर्दै बस्ने छु आमा । कुनै दिन मेरो पनि साथ देला समयले । पीर नगर्नुहोस् आमा १ मलाई घर रिझाएर खान सक्ने आशीर्वाद दिनुहोस् भन्दै घर जानलाई भाइको साथ बाटो लाग्छे ।
भदौको झरी झमझम परिरहेको थियो । हरिया खेतका धानहरू झरीको मीठो साङ्गीतिक आवाजले मस्त देखिन्थे । भ्यागुताहरूको ट्वारट्वार आवाजसँगै झ्याउकीरीको रोदन मिसिएको थियो । बिहान निस्कन अलि अबेर भएकोले घर पुग्दा त साँझ झमक्क परेको थियो । सबैजनालाई ढोग गरी । घरमा सबैको अनुहार झोल घोप्टिएको कालो रात जस्तो निस्पट्ट अँध्यारो थियो । कोही बोलेनन् । कोही नबोलेको देखेर भाइले केही खान मानेन । “अब भाइलाई कहाँ सुताउने ? सासू आमालाई सोधेका थिई उसले । ल्याउने नि १ सुताउने ओछयान माइतीबाट,” भन्दै आफ्नो कोठामा ड्याम्म ढोका बन्द गरिन् । भाइले दिदीकै कोठाका सोफामा पल्टिदै भन्यो “दिदी १ मलाई यहाँ हुन्छ ।” भन्दै सोफामा सुत्यो । भोलिपल्ट बिहानै भाइ जाने तरखर गर्दै थियो । आमालाई बिहान ढोग् गरेको मात्र थिई खुट्टा पछि सार्दै झम्टिदै अनेक नराम्रो गाली गर्दै “जुन बाटो आइस् त्यही बाटो हुँदै गए हुन्छ ।” भन्दै खनिइन सासू । रूँदै लोग्नेलाई घरमा सबैको व्यवहार बताएर तुरुन्तै आउन आग्रह गरी लोग्नेले समेत खास चासो दिएन । ऊ अहिले आउन नसक्ने र अलिक समयको लागि माइत गएर बस्ने सल्लाह दिन्छ । दिदीलाई यस्तो अवस्थामा छोडेर जान नसक्ने भो भाइ त्यसैले ऊ फेरि माइतीकोमै गई ।
सुरुमा त लोग्नेसँग फोनमा छोटो कुराकानी हुन्थ्यो तर पछि सम्पर्क नै हुन छोड्यो । नम्बर परिवर्तन गरेर ऊ किशोरीसँग सम्पर्क विच्छेद गरिरहेको थियो । यसरी वर्षौ दिनसम्म पनि लोग्नेले वास्ता नगरेपछि ऊ दाइको डेरा सहरमा लोग्नेलाई पनि भेट गर्ने उद्देश्यले गई तर भाउजूले उसलाई पटक्कै बस्न नदिने भन्दै गाउँमा नै गएर बस्ने भनेपछि ऊ भोलिपल्ट बिहानै लोग्नेको पसलमा भेट गर्न गई तर उसको लोग्नेले ऊ आएको खबर उसकी भाउजूबाट पाएर बिहानै गाउँमा गएको थाहा भयो किशोरीलाई । यसरी आफ्नै लोग्नेबाट परित्यक्त भएर उसकै पछि लागेर उसकै मायामा बस्नभन्दा उसले पनि आफ्नो लागि नयाँ बाटो रोज्ने निर्णय गर्न बाध्य हुन्छे । माइतीमा भाउजू बुहारीको आँखाको कसिङ्गर भएर कति दिनसम्म बस्ने ? उसलाई सन्तान प्राप्तिको ठुलो इच्छा हुन्छ जुन सन्तान उसको रोदनलाई लत्याएर पूरा शरीर विकास भैसकेकोलाई समेत गर्भपतन गराएर टुक्रा टुक्रा पारियो ऊ त्यही सन्तानलाई फेरि आफ्नो गर्भमा पठाउन भगवानसँग हरपल प्रार्थना गरिरहन्छे ।
खुलेको छ आकाश आज । स्वच्छन्द आकाशमा चराहरुले झुण्डझुण्ड बनाएर गीत गाउँदै मीठो कलरव सुसेल्दै क्षितिजतिर उडिरहेका थिए । गोधूलि साँझको सूर्यको लालीमा धर्तीमा पोतिएर राताम्मे बनेको थियो धरती ।
भगवानले उसको पुकार सुनेछन् । उसलाई एउटी ऊजस्तै सुन्दर छोरी दिएछन् । बच्चाको बाबु बिदेशमा गएको छ भन्दै सामाजिक अपहेलनाबाट जोगिने उपाय गरेकी थिई । ऊ कुनै पनि पुरुषसँगको सम्बन्ध चाहन्न अब । कलिलै उमेरमा नै प्रेमीबाट लोग्ने बनेको पापीको फन्दामा परेर उम्किन पाएर बल्ल आफ्नै जीवन बाँच्न पाएकी छ । उसको लुछेर निमोठेको सन्तान पुनः पाइसकेकीले छे । छोरीले आमा । भनेर बोलाउँदा खुसीले भरिएर मात्तृत्व बर्साई दिन्छे । धन्य छ भगवान । धन्य छ कोख मेरो । भन्दै रमाएर बाँचेकी छे किसोरी ।