पन्ना अचम्म पर्यो

ललिता ‘दोषी’

1 0


नेपालदृष्टि । धर्मराज गाउँका धनीमानी व्यक्ति थिए । उनको ठुलो घर थियो । घरमुनि मिलेका खेतका गराहरू थिए । घर, खेतबारी सबैको रेखदेख इमान्दार पन्नाले गर्थ्यो । त्यसैले उसले मालिक मालिक्नीबाट भरपूर माया पाएको थियो ।

एक दिन दिउँसोतिर बुढी राती गाई र कालो गोरु मिलेर आफ्नो खेतको पाकेको धान खाएको देखेर पन्नालाई साह्रै रिस उठ्यो । पन्ना दौडदै खेतमा गएर घ्वाँ–घ्वाँ भुक्दै भन्यो– “हैन, तिमीहरूले यो धर्मराज साहूको खेत हो, त्यसको रक्षक म हुँ भन्ने पनि भुल्यौ कि क्या हो ? कि मेरो अपमान गर्न खोजेका हौ ?”

पन्नाको बोली सुनेर राती गाईले बाँ गरी कराएर आँसु झार्दै भनी –“पन्ना, तिमीलाई हेपेर बाली खाएको होइन नि । साँचो कुरा त यो धान खाएको देखेर तिमी यहाँ आउँछौ अनि मनको दुःख पोखौँला भनेर मात्र हो ।”

पन्नाले अचम्म मान्दै भन्यो –“हैन के दुःख भयो राती ? दुब्लाउन त तिमीहरू दुवै दुब्लाएछौ, किन हँ ?”

गोरुले लामो सास फेर्दै बाँ गर्दै भन्यो –“सञ्चो भए हामी किन एक्लाएक्लै हिँड्थ्यौँ र ? मेरो खुट्टा भाँचिएपछि यो गोरुले अब खेतबारी जोत्न सक्दैन भनेर घरबाट निकालिदिए ।”

राती गाईले कुरा थपी– “हेर पन्ना, मलाई पनि यो बुढी भई दूध खान पाइने होइन, थारो गाईलाई कसले घाँस हाल्छ ? भन्दै मालिक मालिक्नीले घरबाट निकालिदिए । यी गोरुले आफूले सक्दासम्म दिनरात नभनी खेत जोत्थे । म बाह्र बेत ब्याएँ । कति धेरै दूध दिन्थेँ । दूध खान पाउञ्जेल राती गाई कति लच्छिनकी छे भन्थे । दूध दिन छोडेपछि कसैले एकमुठ्ठी घाँस दिएनन् । मान्छेहरू त साह्रै स्वार्थी पो हुँदारहेछन् । खान र काम पाउञ्जेलसम्म वास्ता गर्छन् । काम पाउन छोडेपछि तिमीलाई पनि हामीलाई झैँ निकाल्छन्, बुझ्यौ ?” भन्दै गाई, गोरु बाटो लागे ।

पन्नालाई गाई र गोरुको कुरा सुनेर नमज्जा लाग्यो । पीर मान्दै थुचुक्क भुइँमा बस्यो । त्यसै समयमा एउटा बुढी कुखुरी दौडदै आएर सानो झाडीभित्र लुकी ।

पन्नाले कुखुरीतिर हेर्दै भन्यो–“कुखुरी तिमी किन लुकेकी रु फेरि आँखामा आँसु पनि छ स्यालको डरले त होइन ?”

कुखुरीले क्याँकक्याँक गर्दै मसिनो स्वरमा भनी–“हेर पन्ना, मैले कति धेरै फुलहरू पारेँ, कति धेरै बच्चा कोरलेँ अहिले म फुल पार्न नसक्ने भएँ । आज मालिकहरू मलाई काटेर कवाफ बनाएर खाने कुरा गर्दै छन्, त्यसैले लुक्न आएकी हुँ । हामी पशुपक्षीहरू मालिक मालिक्नी भनेर हुरुक्कै गर्छौं । उनीहरू केवल स्वार्थमा अडेका हुन्छन् बुझ्यौ ?”

कुखुरीको कुरा सुनेर पन्ना झनै उदास भयो । उसलाई मान्छेसँग नै घृणा लाग्यो । पन्नाले अब के गर्ने कसो गर्ने सोच्नै सकेन । त्यत्तिकैमा पन्नाको आँखा पुनःअपरिचित मान्छेसँग हिँडेकी काली बाख्रीमा पर्यो । कुकुर दौडदै काली बाख्री नजिक भएर भन्यो –“बाख्री दिदी । तिमीलाई अन्तै बेचिदिएकी क्या हो ? यो मान्छे त तिम्रो मालिक होइन नि ।”
बाख्रीले पुलुक्क पन्नातिर हेरेर म्याँम्याँ गर्दै भनी– “पन्ना, म एक बेतमा तीनवटा पाठापाठी पाउँथेँ । मेरो पाठापाठीबाट मालिक मालिक्नीलाई ठुलो आर्थिक टेवा पुगेको थियो । आज म बच्चा पाउँदा पाउँदै अशक्त भएँ । उनीहरूले मेरा सबै गुन बिर्से । आज म बिरमी हुँदा नाथे एक हजार रुपैयाँ लिएर बुच्चरलाई बेचे । यो मानिसले मलाई भोलि काटेर बेच्छ । हेर, तिमीलाई पनि अशक्त भएपछि घरबाट निकाल्छन् । मालिक मालिक्नी भनेर ज्यान नै नदेऊ ठिक्क मात्र गर ।”

काली बाख्री रुँदै म्याँम्याँ गरी कराउदै बुच्चर पछिपछि गएको दृश्यले र गाई–गोरु,कुखुरीको कुरा सम्झेर पन्ना साह्रै निराश भयो । उसलाई आफ्नो मालिक मालिक्नीसँग पनि घृणा लाग्यो । ज्यादै चिन्ताले गर्दा उसलाई ज्वरो आएजस्तो पनि भयो । मालिकको धानबालीको वास्तै नगरी रुँदै लुरुलुरु हिँड्यो ।

पाङ्ग्रे बगरमा सुतिरहेको थियो । पन्ना आफ्नो वास्तै नगरी हिँडेको देखेर पन्नातिर हेर्दै घ्वाँ–घ्वाँ भुक्दै भन्यो –“हैन के भयो पन्ना ? सञ्चो छैन कि ? कहाँ जान हिँडेको ? खोला पनि देखेनौ कि क्या हो ?”

पन्नाले सबैले भनेको कुरा सुनाउँदै भन्यो– “म त मर्न नै हिँडेको पाङ्ग्रे । खोलाको बाढी पनि कम छ, खोइ कसरी पो मर्नु ?”

पाङ्ग्रेले सम्झाउँदै भन्यो–“पन्ना, तिमी त मूर्ख नै रहेछौ ‘गुनी पनि बैगुनी दुवै मानिस’ छन् यहाँ, ल मलाई नै हेर न । म अशक्त भएपछि घर मालिकले निकालेको कुरा तिमीलाई थाहा नै छ । म हिँडडुल गर्न नसकेर भोकले लखतरान भएर सूर्यकुमारी बजैको घरनिर लडिरहेको थिएँ । बजैले हाम्रो मालिक्नीलाई गाली गर्दै, आ’ पाङ्ग्रे, मरे हाम्रै घरमा मर्लास्, भनेर घर लैजानुभयो । उपचार गर्नुभयो । हेर म अहिले कति हृष्टपुष्ट छु । त्यहाँ सबैले मलाई माया गर्छन् । सबैलाई एउटै आँखाले हेर्नु हुँदैन । जाऊ घर फर्क, सबैको मन कठोर हुँदैन, मायालु मन पनि हुन्छ ।”

पन्नालाई पाङ्ग्रेको कुराको कुरामा पटक्कै विश्वास लागेन । उसले गाई–गोरु, कुखुरा, बाख्रीको कुरा सम्झेर आँसु झार्दै बगरमा नै बस्यो । पाङ्ग्रे पनि उसलाई सम्झाउँदै त्यही बस्यो । केही समयपछि धर्मराज साहू हस्याङफस्याङ गर्दै आएको देखेर पाङ्ग्रे खुसी भयो । धर्मराज साहूले पन्नालाई यताउता छामछाम छुमछुम गदै भने–“तैँले त हाम्रो सातो नै खाइस् नि बाबै । कतै पाङ्ग्रेसँग त झगडा परेन ? हेर है पाङग्रे । पन्नालाई छोइस मात्र भने तेरो हाडखोर बाँकिरहँदैन । पन्नालाई केही भयो भने हामी त टुहुरो नै हुन्छौँ । तेरी मालिक्नी तँलाई खोज्दै कहाँ–कहाँ पुगिन् होला कुन्नि ?” भन्दै पन्नालाई बोकर अगाडि लागे ।

मालिकको मायालु कुरा सुनेर पन्ना अचम्म पर्यो । पन्नाले पुलुक्क पाङ्ग्रेतिर हेर्यो । सूर्यकुमारी बजैकोजस्तै पन्नाको मालिकको पनि मायालु मन देखेर पाङ्ग्रेले खुसी हुँदै पुच्छर हल्लायो । त्यस्तै पन्नाले पनि पुच्छर हल्लायो ।

शिक्षास् विविधताले भरिएको यो संसारमा सबैलाई एउटै आँखाले हेर्नु उचित हुँदैन ।