दुई दिनको अविरल बर्षाले सप्तरी जलमग्न

धीरेन्द्रप्रसाद साह

1 0


नेपालदृष्टि । पछिल्लो दुई दिनयता अविरल वर्षासँगै सप्तरीको सप्तकोसी, खाँडो, बलान, महुली, जीता लगायतको नदीमा आएको बाढीले दुई सयभन्दा बढी घर परिवार प्रभावित भएको छ ।

खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वार्ड नम्बर १, बेल्हीका ५०, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका एक सय घरमा पानी पसेको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । बस्तीमा बाढी पसेपछि उठीबासको अवस्था भएको उहाँले भन्नुभयो, खाँडोमा बाढीले खतरा तह पार गरिसकेको थियो । तर, अहिले बाढी कम भएको छ । अझै पानी सतह बढेमा ती बस्तीका बासिन्दाहरूलाई उच्च स्थानमा सार्नुपर्ने उहाँले बताउनुभयो ।

खाँडो नदीमा आएको बाढीले खतरा तह पार गरेपछि तिलाठी कोइलाडी गाउँपालिका(३, सकरपुरास्थित खाँडो नदीको तटबन्धका स्परमा कटान सुरु भएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले भन्नुभयो, बाढी कम भएपछि बाँधमा कटान पनि कम भएको छ । खाँडोको बाढीले बनरझुला, कोइलाडी लगायत तीनरचार स्थानमा सडकमा क्षति पु(याएको उहाँले बताउनुभयो ।
 

त्यस्तै जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोसी नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर सप्तकोसीको बाढीले डुबानमा परेको छ । यसैगरी राजविराज नगरपालिका वडा नम्बर २, ५ र ६ का बस्तीमा वर्षाको पानी पसेपछि जलमग्न भएको छ । त्यस्तै जिल्लाको बलान, खडक, महुली, जिता नदीमा बाढी चाप उच्च रहेको छ । नदी आसपासका बस्तीमा पानी पसेको बताइएको छ ।

यता यसअघि नै जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबगाढा बस्तिमा सप्तकोसी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका थिए । प्रहरीको सहयोगमा ती परिवारलाई उद्धार गरी उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा राखिसकेको वडा अध्यक्ष बिन्देश्वर यादवले जानकारी दिनुभयो ।

जिल्लाको विभिन्न बस्ती जलमग्न भएपनि खतरा आइनपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बाढीको कारण आउन सकिने सङ्कट व्यवस्थापनका लागि सुरक्षाकर्मी राहत, उद्धारका सामग्रीसहित तयारी अवस्थामा रहेको सप्तरी प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिनुभयो । - गोरखापत्र दैनिक